काठमाडौ । जेनजी आन्दोलनको चर्को माहोलकै बीच देशभरका विभिन्न कारागार र प्रहरी हिरासत तोडफोड हुँदा साढे १२ हजारभन्दा बढी कैदीबन्दी फरार भएका छन् । यीमध्ये कतिपय अपहरण, व्यक्ति हत्या, बलात्कार, सुन तस्करी जस्ता जघन्य अपराधमा सजाय भोगिरहेका कुख्यात नाइकेहरू पनि जेल बाहिर खुलेआम हिँडिरहेका छन् ।

नेपाल प्रहरीले दिएको तथ्याङ्कअनुसार, हालसम्म १४ हजार ५०७ कैदीबन्दी कारागारबाट भागेका थिए, जसमा १२ हजार ८५२ अझै फरार छन् । प्रहरी हिरासतबाट मात्रै ५७३ जना थुनुवा भागेका छन् । अहिलेसम्म १ हजार ४५५ मात्र पक्राउ परेका छन् ।

रसुवा कारागारबाट अपहरणकारी नाइके भारतीय नागरिक उदय सेट्टी फरार छन् । काठमाडौंको सुन्धारा कारागार तोडफोड गर्दै भागेका मध्ये सुन तस्करी र व्यक्ति हत्या प्रकरणमा संलग्न गोरे उर्फ चुडामणि उप्रेती पनि अझै सम्पर्कविहीन छन् । त्यस्तै, नख्खु कारागारबाट निस्केका पूर्वमन्त्री सञ्जय साह टक्लालाई प्रहरीले फेरि नियन्त्रणमा लिन सफल भए पनि अन्य ठूला अपराधी अझै फरार नै छन् ।

कैदी फरार भएसँगै देशभर सुरक्षा चुनौती थपिएको छ । कतिसम्म भने, भागेकामध्ये एकजना दीपक सुनारले कञ्चनपुरमा बलात्कार प्रयाससमेत गरेको आरोपमा पुनः पक्राउ भइसकेका छन् । यसले फरार कैदीहरू समाजमा प्रत्यक्ष जोखिम बोकिरहेको पुष्टि गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले फरार कैदीबन्दीको अवस्थाले गम्भीर सुरक्षा चुनौती निम्त्याएको जनाउँदै नागरिकलाई सजग रहन आग्रह गरेका छन् ।

प्रहरीले फरार कैदी वा थुनुवाबारे जानकारी पाइए तुरुन्त नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायलाई खबर गर्न अपिल गरेको छ ।

“कैदीबन्दी र थुनुवा समाजमै घुलमिल भएकाले उनीहरूको गतिविधि नागरिकले देख्ने सम्भावना बढी छ,” प्रवक्ता घिमिरेले भने, “त्यसैले सुरक्षाकर्मीलाई सहयोग पुर्‍याएर समाजलाई अपराधमुक्त बनाउन सबैको सहभागिता अपरिहार्य छ।”

 नागरिकलाई प्रहरीको अपिल :

-फरार कैदी वा थुनुवाबारे देखे वा जानकारी पाए तुरुन्त प्रहरीलाई खबर गर्ने

-अपरिचित वा संदेहास्पद गतिविधि देख्दा बेवास्ता नगर्ने

-स्थानीय स्तरमा सतर्कता बढाउने

नेपाल प्रहरीले फरार अपराधी नियन्त्रणमा ल्याउन नागरिक र सुरक्षा निकायबीच सहकार्यलाई नै मुख्य आधार मान्दै सबैलाई सहयोग गर्न आह्वान गरेको छ ।