झापा । पछिल्ला दिनमा देशभर उत्पन्न भएको प्रतिकूल घटनाक्रमका कारण कचनकवल गाउँपालिका कार्यालय तथा विभिन्न वडा कार्यालयहरूमा ठूलो क्षति पुगेको छ । कार्यालय भवनसँगै परिसरमा रहेका सवारीसाधन, फर्निचर, विद्युतीय उपकरण तथा अन्य सार्वजनिक सम्पत्ति समेत पूर्ण रूपमा क्षतिग्रस्त भएका कारण गाउँपालिका तथा वडा कार्यालयमार्फत प्रवाह हुँदै आएका सबै प्रकारका सेवाहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको गाउँपालिकाले जनाएको छ ।


यद्यपि, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कार्यालयहरू-प्राथमिक स्वास्थ्य केन्द्र बनियानी, सम्पूर्ण स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइहरूमा औषधि तथा उपकरण उपलब्ध रहेसम्म सेवा निरन्तर रहने जनाइएको छ ।
सुरक्षा संवेदनशीलता र हालको असामान्य अवस्थालाई दृष्टिगत गर्दै विद्यालयहरू समेत अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ । यसले विद्यार्थी, शिक्षक र अभिभावकलाई सचेत रहन समेत आग्रह गरिएको छ ।
त्यस्तै, कार्यालय परिसरमा रहेको फोहोरमैला संकलन गर्ने ट्र्याक्टरमा समेत आगजनी भएकोले तत्कालका लागि फोहोर संकलन कार्य प्रभावित हुने जनाइएको छ ।
गाउँपालिकाले जारी सूचनामा नागरिकलाई संयमित रहि राज्यका सुरक्षा निकायहरूले दिएको निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै, शान्ति र अमयचयन पुनःस्थापनामा सक्रिय सहयोग गर्न आह्वान गरेको छ ।