झापा - पछिल्ला दिनमा चर्किएको आन्दोलनका क्रममा बिर्तामोड र दमक क्षेत्रमा प्रहरीले ठूलो संख्यामा आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ भने दर्जनौँ घाइते भएका छन्। यसै क्रममा विभिन्न ठाउँमा भौतिक क्षति पनि पुगेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेकाहरू :
बिर्तामोड नगरपालिका-५ का २३ वर्षीय बिकास खतिवडासहित दमक क्षेत्रबाट १० जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामध्ये ताप्लेजुङ, इलाम, झापा लगायतका विभिन्न पालिकाका युवा तथा किशोर-किशोरीहरू रहेका छन्। उनीहरूलाई प्रचौ बिर्ताबजार र दमक प्रहरीले नियन्त्रणमा राखेको छ।
घाइतेको विवरण :
-आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेपछि कम्तीमा १२ जना घाइते भएका छन्।
-कमल गाउँपालिका-५ का ३० वर्षीय प्रकाश भट्टराईको खुट्टामा गम्भीर चोट लागेर थप उपचारका लागि B&C अस्पताल बिर्तामोड पठाइएको छ।
-दमक-३ का २० वर्षीय भुपेन्द्र खडकालगायतलाई घोपा, धरान र नोबेल अस्पताल बिराटनगर रेफर गरिएको छ।
-१७ वर्षीय औसन रिमाल, २४ वर्षीय साईन राई, १८ वर्षीय रोयल रिजाल लगायतको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
-अनारमनीमा ३३ वर्षीय प्रदिप खरेल र १६ वर्षीय संदेश गिरी घाइते भएका छन्।
प्रहरीले घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको जानकारी दिएको छ।
भौतिक क्षति :
-बिर्तामोड नगरपालिकाको ढुङ्गा हाट अगाडिका झ्यालका ५-७ वटा सिसा फुटाइएका छन्।
-दमक-९ मा पाथिभरा पेट्रोल पम्प नजिक टायर जलाइिएको छ।
-बिर्तामोड ट्राफिक प्रहरी पोष्टमा आगजनी गरी पूर्ण क्षति पुर्याइएको छ।
-मुक्तिचोक वरिपरी रहेका ५ वटा, पश्चिम स्टेण्डका २ वटा र गरुवा स्टेन्डका २ वटा CCTV क्यामेरा तोडफोड गरिएको छ।
आन्दोलन अझै उग्र बन्न सक्ने आशंका बीच प्रहरीले नियन्त्रण कडा पारेको छ। उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्था स्थिर रहेको तर केहीलाई थप उपचार आवश्यक रहेको अस्पताल स्रोतले जनाएको छ।




















