काठमाडौं । सरकारले २६ वटा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेलगत्तै फेसबुकको माउ कम्पनी मेटा सक्रिय बनेको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकपश्चात मेटाले प्रत्यक्ष सम्पर्क गर्दै आवश्यक कागजात मागेको पुष्टि भएको छ ।


मन्त्री गुरुङका आईटी सल्लाहकार डा. शालिग्राम पराजुलीलाई मेटाको सिंगापुरस्थित कार्यालयका प्रतिनिधिले सम्पर्क गरी सूचीकरणका लागि आधिकारिक डकुमेन्ट माग गरेका हुन् । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले आवश्यक कागजात मेटालाई पठाइसकेको छ ।
“हो, मेटाले आवश्यक विवरण मागेको छ, हामीले आधिकारिक रूपमा पठाइसकेका छौँ,” ठाकुरले भने । तर, तत्काल प्रतिबन्ध खुल्ने अवस्था भने नरहेको प्रवक्ता ठाकुरले जानकारी दिए । उनका अनुसार मेटाले निवेदन दर्ता गरेपछि मात्रै सूचीकरण प्रक्रिया अघि बढ्ने र प्रतिबन्ध हट्नेछ ।
यससँगै नेपालमा फेसबुक, इन्स्टाग्रामलगायत मेटाका प्लेटफर्म छिट्टै सूचीकरण प्रक्रियामा प्रवेश गर्ने र प्रतिबन्ध फुकुवा हुने सम्भावना बढेको छ ।@Techpana