बालुवाडी, झापा - नेपाल विद्यार्थी संघ कचनकवल गाउँ कार्यसमिति झापाद्वारा आयोजित "नवगठित गाउँ कार्यसमितिलाई स्वागत, सम्मान तथा प्रमाणपत्र वितरण कार्यक्रम" अत्यन्तै भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

वि.सं. २०८२ सालको वैशाख २९ गते पुनर्गठन भएको ५१ सदस्यीय नवगठित नेविसंघ कचनकवल गाउँ कार्यसमितिका पदाधिकारीहरूलाई खदा, अबिर र प्रमाणपत्रद्वारा सम्मानपूर्वक स्वागत गरिएको सो कार्यक्रममा विभिन्न तहका नेतागण, भातृ संस्था, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभापतित्व नेविसंघ कचनकवलका अध्यक्ष श्री आशिष वाग्लेले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा कोशी प्रदेशसभा सदस्य तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री माननीय भूमि प्रसाद राजवंशी सहभागी हुनुहुन्थ्यो।

त्यस्तै, विशिष्ट अतिथिका रूपमा नेपाली कांग्रेस झापा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति तथा भद्रपुर नगरपालिकाका नगरप्रमुख श्री गणेश पोख्रेल, कांग्रेस जिल्ला सहसचिव तथा कचनकवल गाउँपालिकाका अध्यक्ष श्री कालेन्द्र प्रसाद सिंह राजवंशी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघ झापा अध्यक्ष सञ्जय निरौलाले नेविसंघको गौरवपूर्ण इतिहास र योगदान स्मरण गर्दै नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो।

कार्यक्रमका सभापति आशिष वाग्लेले धन्यवाद ज्ञापन गर्दै, यस्तो आयोजनाले विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्ने प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभयो।