बालुवाडी (झापा), साउन १३ - कचनकवल गाउँपालिका-७, सितागढीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ। स्थानीय ५५ वर्षीय अरुण राजवंशीको सोमबार राति करेन्ट लागी मृत्यु भएको आशँका गरिएको छ।

स्थानीयको भनाइअनुसार, हिजो राति करिब ८ बजेसम्म राजवंशीको गाईबस्तु बाहिर बाटोमै रहेका थिए भने घरको सानो चापकल चलिरहेको अवस्थामा देखिएको थियो।

 बिहान गाईबस्तु खेतमा बान्न जाने क्रममा घर नजिकै रहेको कृषि मोटरको करेन्ट लागेको अवस्थामा मृत भेटिएका थिए। राजवंशीको दुवै छोरा वैदेशिक रोजगारीमा रहेका छन् भने श्रीमती घरेलु झगडाका कारण माइतीघर गएकी थिइन्। उनी घरमा एक्लै बस्दै आएका थिए। छिमेकीका अनुसार, राजवंशी प्रायः राति ढिलोसम्म घर बाहिरै हुने गर्थे र खेतीपाती तथा पशुपालनमा संलग्न थिए।

स्थानीयले करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान गरे पनि अहिले इलाका प्रहरी कार्यालय बनियानीको टोली घटनास्थलमै रहेको र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली आउनसाथ कानुनी प्रकृया पूरा गरि दाहसंस्कार गरिने वडाध्यक्ष भरत राजवँशीले बताउनु भएको छ।

घटनाको विस्तृत कारण खुल्न बाँकी रहेको र प्रहरी अनुसन्धान भइरहेको पाइएको छ।