झापा, बनियानी - कचनकवल गाउँपालिकाले सडक पूर्वाधारमा फेरि एक ऐतिहासिक फड्को मारेको छ। संघीय सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाले आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित करोडौं रुपैयाँ बराबरको बजेटअनुसार, गाउँपालिका भित्रका विभिन्न सडकहरू कालोपत्रे गर्न योजनाबद्धरूपमा काम अघि बढेको छ।

सडक डिभिजन कार्यालय दमकको प्राविधिक टोलीले आज गाउँपालिकाभित्रका सडकहरूको स्थलगत अध्ययन तथा प्रारम्भिक सर्भे सम्पन्न गरेको हो। इन्जिनियर विपिन ढुङ्गानाको नेतृत्वमा भएको सर्भेमा गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिँह राजवँशी, उपाध्यक्ष नवराज भट्टराई, वडा नं. २ का अध्यक्ष लेखनाथ खत्री, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थलगत सर्भे अन्तर्गत मेचि लोकमार्ग अन्तर्गतको बाङ्गाडाँगी-पथरिया-घेरावारि-राजगढ सडक, कटुवालचोक-धौलावस्ती-तुलसीवारी सडक तथा सिङ्गिमारी-कुमाले गाउँ-तुलसीवारी-बालुवाडी सडक समेटिएका छन्। हरेक योजनाको लागत अनुमान करिब ३ करोड रुपैयाँ रहेको छ।

गाउँपालिकाले चालु आर्थिक वर्षलाई “सडक पूर्वाधार गौरवको वर्ष” घोषणा गर्दै संघीय सरकारसँग समन्वय गरी अपेक्षाभन्दा बढी बजेट ल्याउन सफल भएको छ। अध्यक्ष राजवँशी र उपाध्यक्ष भट्टराईको नेतृत्वमा,भौतिक पुर्वाधार राज्यमन्त्री भूमि प्रसाद राजवँशी,निवर्तमान प्रदेशसभा सदस्य वसन्त कुमार बानियाँको सक्रिय साथमा, विभिन्न मन्त्रालयमा योजनाहरू प्रभावकारीरूपमा प्रस्तुत गरिएपछि संघीय बजेट सुरक्षित गरिएको हो।

स्मरणीय छ - कचनकवल गाउँपालिका र संघीय सरकार दुवैमा एमाले-काँग्रेस गठबन्धन रहेकोले योजनाको स्वीकृति र कार्यान्वयनमा समन्वय सहज बन्यो। यही सहकार्यका कारण पालिकाले ‘विकास पहिलो’ नीति कार्यान्वयनमा विशेष प्राथमिकता दिएको हो।

यस्तो सक्रियता र प्रतिबद्धताबीच पनि केही दलहरूले ‘विरोधका लागि विरोध’को राजनीति गरिरहे तापनि, कचनकवल गाउँपालिकाले विकासको मार्गमा अडिग रहेर राजनीतिक रसाकस र रोटी सेकाइभन्दा माथि उठेर काम गरिरहेको छ। स्थानीय नागरिकहरूले पनि पालिकाको दूरदर्शी नेतृत्वप्रति विश्वास व्यक्त गरेका छन् र समयमै योजना सम्पन्न हुनेमा आशावादी बनेका छन्।