झापा, साउन १० - झापामा पहिलोपटक फोटो पत्रकारितालाई संस्थागत र सशक्त बनाउने ऐतिहासिक प्रयास स्वरूप राष्ट्रिय फोटो पत्रकार समूहको झापा जिल्ला शाखा औपचारिक रूपमा गठन गरिएको छ। नेपाल पत्रकार महासंघ झापा जिल्ला शाखाका पूर्वसभापति एवं वरिष्ठ सञ्चारकर्मी मोहन काजी न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले स्थायित्व, नेतृत्वदक्षता र उद्देश्यपूर्ण कार्यदिशासहितको कार्यसमिति चयन गरेको छ।


समितिको अध्यक्षमा अनुभवी फोटो पत्रकार नेत्र विक्रम बिमली चयन भएका छन्, जसले विगतदेखि नै झापा जिल्लामा दृश्य पत्रकारितालाई पहिचान दिलाउँदै आएका छन्। उपाध्यक्षमा सन्तोष न्यौपाने, सचिवमा भरत प्रसाई, कोषाध्यक्षमा कवि गुरागाई तथा सदस्यहरूमा चन्द्र बस्नेत, देव बास्कोटा र हेमन्त मैनाली रहेका छन् - जसले विविध पृष्ठभूमिबाट संस्थामा समावेशी नेतृत्व सुनिश्चित गरेका छन्।
समितिको रणनीतिक सुदृढीकरणका लागि सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकार संयोजकमा पत्रकार महासंघ झापाका पूर्वसभापति मोहन काजी न्यौपाने स्वयं रहनेछन भने सदस्यमा महासंघ झापा उपाध्यक्ष सुब्रत न्यौपाने, बालबालिका तथा शिक्षा मञ्च झापाका संयोजक सरोज पौडेल र पत्रकार उद्धव पुरी रहनुहुनेछ। यस सल्लाहकार टिमले नीतिगत निर्देशन, अनुभव र मार्गदर्शन प्रदान गर्दै संस्थालाई दीर्घकालीन स्थायित्वतर्फ डोर्याउने अपेक्षा गरिएको छ।
नवगठित समितिले फोटो पत्रकारिताको गुणस्तरीयता, व्यावसायिकता र उत्तरदायित्वलाई केन्द्रमा राख्दै तालिम, अन्तरक्रिया, फोटोग्राफी प्रदर्शनीजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने र केन्द्रीय संरचनासँग रणनीतिक सहकार्य गर्दै अगाडि बढ्ने स्पष्ट योजना सार्वजनिक गरेको छ।
झापा जस्तो राजनीतिक, सामाजिक र भौगोलिक विविधता बोकेको संवेदनशील जिल्लामा दृश्य पत्रकारिता केवल कला होइन, प्रमाणिकता र जनजिवनको ऐनाको रूपमा स्थापित हुँदै आएको छ। त्यसैले नवगठित समितिको यो संरचना केवल नामको संगठन नभई, प्रेस स्वतन्त्रता, अभिव्यक्ति सुरक्षाको मोर्चामा उभिने प्रतिबद्धता हो - जसले निकट भविष्यमा जिल्लामै दृश्य पत्रकारिताको नयाँ युगको आरम्भ गर्नेछ।