झापा, साउन १० गते - झापाको हल्दीवारी गाउँपालिका-४ ओलीचौकमा साउन ६ गते बिहान ग्याँस लिक भई भएको आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको छ।


साउन ६ गते बिहान ८:४० बजे तिर पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा रहेको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यास लिक भएर अचानक आगलागी भएको थियो। आगो निभाउने प्रयासमा घरका अन्य सदस्यहरू पनि घाइते भएका थिए। गम्भीर घाइते सबैलाई तत्काल ओमसाई पाथीभारा अस्पताल, भद्रपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाण्डौ लगिएको थियो।
गम्भीर अवस्थाका पुण्यप्रसाद ओलीको साउन १० गते बिहान ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको बर्न अस्पताल स्रोतले पुष्टि गरेको छ।
उक्त आगलागीमा घाइते भएका ५९ वर्षीया गोमा देवी ओली र ३३ वर्षीय सन्तोष ओली भने उपचारपछि डिस्चार्ज भइसकेका छन्।
जिल्ला प्रहरी झापाका अनुसार घरमा प्रयोग भइरहेको एलपी ग्यासको लिकका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।