झापा, साउन १० - झापाको भद्रपुर बजारमा नेपाल प्रहरीले चलाएको ‘सिङ्गम शैली’को अपरेशनले एक पटक फेरि देखाएको छ -अपराधीहरू जति चलाख भए पनि, प्रहरीको योजनाबद्ध टिमवर्क र अदृश्य कमाण्डरको रणनीति सामु उनीहरूको भागदौड दीर्घकालीन हुँदैन।


मिति २०८२ साउन १० गते दिउँसो ३:५० बजे, भद्रपुर नगरपालिका-५ स्थित भित्री सडकमा भारतको किसनगंज जिल्ला, कोल्लिकोट थाना निवासी ३६ वर्षीय मोहम्मद इस्लाम लागुऔषध कारोबारमा संलग्न रहेको विशेष सुराकी सूचनाका आधारमा प्रहरीले घेराबन्दी गर्यो। शंकास्पद रूपमा हिँडिरहेका इस्लाम प्रहरी देख्नेबित्तिकै ज्यानमारा शैलीमा आक्रमण गर्दै भाग्ने प्रयास गरे। तर योजना पहिल्यै तयार थियो-टोलि तयार, निर्देश स्पष्ट।
प्रहरी टोलीले आत्मरक्षार्थ चलाएको दुई राउन्ड गोलीमध्ये एक राउन्ड इस्लामको बाँया खुट्टाको घुँडामुनि लाग्यो। लखतरान अवस्थामा पक्राउ परेका इस्लामको साथबाट खैरो हिरोइन जस्तो देखिने ११०.२० ग्राम लागुऔषध प्लास्टिकमा र १०७.१० ग्राम प्लास्टिकबाहेक फेला परेको हो।
घाइते इस्लाम अहिले प्रहरी निगरानीमा प्रदेशिक अस्पताल भद्रपुरमा उपचाररत छन्। अवस्था सामान्य छ। तर प्रहरीको अपरेशन असाधारण रह्यो-चुपचाप, छरितो, सटीक र सन्देशमूलक।
यो सफलता पृष्ठभूमिमा रहँदै टोलिलाई योजनाबद्ध निर्देशन दिने नेपाल प्रहरीको त्यो अदृश्य कमाण्डरको हो, जसको नेतृत्व "हल्ला होइन, परिणामले बोल्छ" भन्ने सिद्धान्तमा आधारित छ। न उनको उपस्थितिको शोर, न त सञ्चारमाध्यममा बारम्बार देखा पर्नुपर्ने आवश्यकता तर उनको योजना, निर्देशन र साहसले अपराधीहरूलाई गोडा कमाउने बनाइरहेको छ।
यसकारण लागुऔषध कारोबारीहरू नेपाल प्रहरीको 'सिङ्गम निशाना'मा परेपछि पर्दा पछाडिबाट चल्ने नेतृत्व, पंक्तिमा खटिने टोली र निष्कलंक प्रतिबद्धताले सुसज्जित प्रहरी अब सम्झौतामा होइन, सिधा कारबाहीमा विश्वास गर्छ।
नेपाल प्रहरीको यो अदृश्य टिमवर्क र साहसी अपरेशन सबै सुरक्षाकर्मीहरूको प्रेरणा बनेको छ। कानूनमाथि विश्वास र अपराधविरुद्धको संकल्पका लागि यो मिसन एक ज्वलन्त उदाहरण हो।