झापा, २०८२ साउन १० - प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउने र तनाव व्यवस्थापन गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय (जिप्रका) झापाको आयोजनामा आज एक विशेष सिनेमा हेर्ने कार्यक्रम सम्पन्न गरिएको छ।
Recreational and Motivational Events अन्तर्गत सञ्चालित यस कार्यक्रममा झापाको भद्रपुर नगरपालिका-५ स्थित कृष्ण राज कम्प्लेक्समा नेपाली चलचित्र "महाभोज" प्रदर्शन गरिएको हो। कार्यक्रममा झापा जिल्ला प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढी, वडा प्रहरी कार्यालय भद्रपुर तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा चन्द्रगढीमा कार्यरत गरी करिब २१० जना प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोख्रेल, झापा जिल्ला न्यायाधिवक्ता खडिन्द्र कटुवाल लगायत विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
सहभागी प्रहरी कर्मचारीहरूका अनुसार यस्तो खालको मनोरञ्जनात्मक तथा प्रेरणादायी कार्यक्रमले उनीहरूलाई मानसिक रूपमा सशक्त बनाउने र सेवामा थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ। आयोजकका अनुसार यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी ढंगले निरन्तरता दिइने योजना रहेको बताइएको छ।