झापा, साउन १० - झापाको दमकमा आज बिहान भएको एक सवारी दुर्घटनामा परेर एक जना साइकल यात्रीको ज्यान गएको छ।

प्रदेश नं. १-०१-००१ ख ४३६३ नम्बरको यात्रुबाहक बसले दमक नगरपालिका-४ चियाबगानस्थित पूर्व-पश्चिम राजमार्गमा बिहान करिब ६:४५ बजे साइकल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

मृतक साइकल यात्री दमक नगरपालिका-४ धरधरेका ६० वर्षीय सोम बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। विकलाई दुर्घटनापछि तत्कालै उपचारका लागि दमक अस्पताल लगिएको थियो। तर, बिहान ७:२८ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न बस र चालक मकवानपुर हेटौंडा नगरपालिका-७ निवासी ४७ वर्षीय राजेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।