झापा, साउन ९ - लागुऔषध कारोबार नियन्त्रणमा उल्लेखनीय सफलता हात पार्दै जिल्ला प्रहरी कार्यालय झापाले पुनः एक पटक प्रतिबन्धित पदार्थसहित तीन भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ साल साउन ९ गते साँझ करिब ५:३० बजे, झापा कचनकवल गाउँपालिका-४,लोधावारीस्थित भारत-नेपाल सीमा क्षेत्रमा लागुऔषध (ब्राउन सुगर) को अवैध कारोबार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले संयुक्त अपरेसनमा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्ति भारतको बिहार राज्य, किशनगञ्ज जिल्लाका २५ वर्षीय मो. सोहेल, उनकी श्रीमती २९ वर्षीया तबसुम आरा र २४ वर्षीय कचालु अन्सारी रहेको प्रहरीले जनाएको छ। उनीहरू पैदलमार्ग हुँदै नेपाल प्रवेश गर्ने क्रममा शंकास्पद देखिएपछि जाँच गर्दा उनीहरू बोकेको प्लाष्टिकको पोका भित्र प्रतिबन्धित खैरो लिसिलो पदार्थ (ब्राउन सुगर) फेला परेको हो।

तत्कालै तौल गर्दा उक्त पदार्थ प्लाष्टिक बाहेक ५८ ग्राम ४०० मिलिग्राम रहेको पुष्टि भएको छ। बरामदसहित तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झापामा पछिल्ला दिनमा लागुऔषध नियन्त्रणमा अपरेसन तीव्र पारिएको छ। यो घटनालाई पनि प्रहरीको प्रतिबद्धता र सतर्कताको अर्को सफल उदाहरणका रूपमा लिइएको छ।