झापा, साउन ८ – लागुऔषध नियन्त्रण तथा सम्भावित आपराधिक गतिविधिको न्यूनीकरणका उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालयको केनाईन (K9) शाखा, धरानबाट खटिएको विशेष डग स्न्यापिङ टोलीले झापाको मेचिनगर क्षेत्रमा सघन खोज तथा नियन्त्रण अभियान सञ्चालन गरेको छ।


साउन ८ गते साँझ ५ बजेदेखि सञ्चालन गरिएको उक्त डग स्न्यापिङ अभियान मेचिनगर-९ अन्तर्गत झोडा, लिलाबस्ति, खुट्टिडाँगी तथा मेचिनगर-१० स्थित पाथिभरा टोल, खयरडाँगी र दनुवार बस्ती क्षेत्रमा केन्द्रित रह्यो।
प्रहरीको टोलीले अभियानका क्रममा तीन जनालाई लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न रहेको अभियोगमा नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मेचिनगर-९, झोडाका २४ वर्षीय रोशन डाँगीको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ६८ क्याप्सुल बरामद गरिएको छ।
त्यस्तै, सोही क्षेत्रका २२ वर्षीय अर्जुन दर्जीलाई लागुऔषध सेवन कर्ताको रूपमा पहिचान गरिँदा, २८ वर्षीय लिलाबस्ति निवासी रविन राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसिलो पदार्थ २.६१ ग्राम तौलमा प्लास्टिक सहित फेला परेको प्रहरी स्रोतले जनाएको छ। उक्त पदार्थमध्ये प्लास्टिकसहितको तौल १ ग्राम ४२० मिलिग्राम र शुद्ध तौल १ ग्राम १९० मिलिग्राम रहेको छ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको छ। कोशी प्रदेश प्रहरी कार्यालयले यस किसिमको डग स्न्यापिङ कार्यलाई संवेदनशील क्षेत्रहरूमा निरन्तरता दिने जनाएको छ।
जिल्ला प्रहरी झापाले यस्ता अभियानहरूबाट अपराध नियन्त्रण र लागुऔषध विरुद्धको लडाइँमा उल्लेखनीय सफलता मिल्ने विश्वास व्यक्त गरेको छ।