झापा, साउन ७ - लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुल नजिकै भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ आउँदै गरेको भाडाको सिटी सफारीमा सवार एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति इलाम जिल्ला, इलाम नगरपालिका-११ का १८ वर्षीय ईछिङ एक्तेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले शंका लागि उनलाई शारीरिक जाँच गर्दा मलद्वारबाट सेतो रङको प्लास्टिकको पोका फेला परेको थियो। उक्त पोकालाई खोल्दा लिसिलो पदार्थ जस्तो देखिने खैरो हेरोइन फेला परेको प्रहरीको भनाइ छ।

उक्त लागुऔषधलाई मान्यता प्राप्त डिजिटल तराजुमा नापतौल गर्दा ७ ग्राम १३० मिलिग्राम रहेको पुष्टि भएको छ। पक्राउ परेका एक्तेनलाई लागुऔषधसहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Screenshot_2025-07-23-09-34-48-136_com.facebook.katana-edit