झापा, कचनकवल - विकासका क्षेत्रमा पछिल्लो समय सुनौलो सम्भावनाहरू कोरेको कचनकवल गाउँपालिका बहुआयामिक योजनासहित अघि बढिरहेको छ। शिक्षा, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा स्थानीय सरकारको सक्रियता यस क्षेत्रलाई पूर्वी नेपालको नमुना पालिकाको रूपमा स्थापित गर्ने संकेत देखिन्छ।


पालिका भित्रको प्रमुख व्यापारिक केन्द्र बनियानी बजारको स्तरोन्नतिका लागि पालिकाले ४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ। बजार क्षेत्रको सडक सुधार, ट्राफिक व्यवस्थापन, ढलनिकास प्रणाली र व्यापारिक पूर्वाधार विस्तार प्राथमिकतामा छन्। स्थानीयवासीको राय र सुझावमा आधारित बजार व्यवस्थापन मोडेलको तयारी सुरु भइसकेको छ।
युवा रोजगारी र सीप विकासका लागि पालिकाले ७ करोड रुपैयाँको लगानीमा प्राविधिक शिक्षालय निर्माणको तयारी गरिरहेको छ। यस शिक्षालयले युवाहरुलाई दक्ष जनशक्ति उत्पादनमा मद्दत पुर्याउने र स्वदेशमै रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कचनकवल वडा नं. ४ मा फैलिएको करिब १८ बिगाहा क्षेत्रफलको केचना झिललाई व्यवस्थित गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाइएको छ। पालिकाले यसको लागि ३ करोड रुपैयाँको बजेट छुट्याएको छ। हाल झिलबाट वार्षिक ७ लाख रुपैयाँ राजस्व संकलन भइरहेको भए पनि पूर्वाधारको कमी र प्रचार-प्रसारको अभावले यसको पूर्ण सम्भावना उपयोग भएको छैन।
गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशी भन्नुहुन्छ, "हामी अबको विकास नीति स्थानीयको आवश्यकता, सुझाव र भविष्यलाई केन्द्रमा राखेर तयार गर्दैछौं। हाम्रो लक्ष्य कचनकवलका सबै नागरिकले विकासको प्रत्यक्ष फाइदा महसुस गर्न सकून् भन्ने हो।"
गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई भन्नुहुन्छ, "कचनकवलमा विकासको गति तिब्र छ। हामीले बजेटको प्रभावकारी सदुपयोग गर्दै शिक्षा, पर्यटन र पूर्वाधारका क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउन दृढता देखाएका छौं। स्थानीयको सहभागिता बिना विकास सफल हुन सक्दैन भन्ने बुझेर हामी नीति निर्माणदेखि कार्यान्वयनसम्म सबैमा समावेशीता कायम राख्दैछौं।"
विकास योजना विश्लेषकहरूका अनुसार, यदि यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिए, कचनकवल गाउँपालिका निकट भविष्यमा पूर्वी नेपालको पहिलो आदर्श गाउँपालिका बन्ने सम्भावना प्रबल देखिन्छ।