काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय पुस्तकालयमा आर्थिक सहयोग गरेका महाधिवेशन प्रतिनिधि भरत चौलागाईँलाई सम्मान गरेको छ। सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले चौलागाईँलाई सम्मानपत्र प्रदान गर्दै कृतज्ञता व्यक्त गर्नुभयो।


रामेछाप जिल्लाका महाधिवेशन प्रतिनिधि चौलागाईँले पार्टीको स्थायी सम्पत्ति पुस्तकालयलाई व्यवस्थित गर्न उल्लेख्य योगदान गरेका छन्। कार्यक्रममा सभापति देउवाले भन्नुभयो, “पुस्तकालय स्थापना गरेर हाम्रा नेताहरूले पठन संस्कृतिलाई जोड दिएका छन्। चौलागाईँको सहयोगले यसलाई अझ प्रभावकारी बनाउन मद्दत पुगेको छ।”
सभापति देउवाले रामेछाप जिल्लामा चौलागाईँको सक्रियता र जनताबीचको लोकप्रियतालाई पनि प्रशंसा गर्दै भन्नुभयो, “उहाँ रामेछापमा मात्र होइन, कांग्रेस परिवारका लागि पनि एक भरोसायोग्य नेता हुनुहुन्छ।”
पार्टीले स्थापना गरेको केन्द्रीय पुस्तकालयले नीति, सिद्धान्त र ज्ञान आर्जनका लागि महत्वपूर्ण भूमिका खेल्ने देउवाको भनाइ थियो।