झापा । अपराध नियन्त्रणमा अद्वितीय सक्रियता र साहसिक अपरेसनमार्फत लागुऔषध कारोबारमा कडा प्रहार गरेका झापाका प्रहरी निरीक्षक विजय चौहानलाई कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले २०८२ साल असार महिनाको “सर्वोत्कृष्ट प्रहरी” (Best Police of the Month) घोषित गरेको छ।

विभागीय मूल्य-मान्यता र आदेश-निर्देशनको कडाइका साथ पालना गर्दै चौहानले उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएका छन्। उनले नेतृत्व गरेको शृङ्खलाबद्ध अपरेसनहरूमा लागुऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ, जसले झापा जिल्लामा प्रहरीको उपस्थिति थप प्रभावकारी बनाएको छ।

निरीक्षक चौहानको टोलीले भद्रपुर नगरपालिका-५ मा गरिएको चेकजाँचका क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर, एक कार र एक जना अभियुक्त नियन्त्रणमा लिएको थियो। यस्तै, भद्रपुर नगरपालिका-७ मा भएको अर्को अपरेसनमा उनले ६ राउण्ड गोली फायर गर्दै २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गर्न सफल भएका थिए।

त्यसैगरी, झापा गाउँपालिका-४ मा साइकिलको चक्का भित्र लुकाएर राखिएको १६७ ग्राम ब्राउन सुगर सहित एक जना अभियुक्तलाई समेत नियन्त्रणमा लिएको उल्लेखनीय सफलता उनको खातामा जोडिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, “निरीक्षक चौहानको अपराध नियन्त्रणमा देखिएको कर्तव्यनिष्ठा, निर्णय क्षमता र जोखिम मोलेर गरिएको काम विभागका लागि गर्वको विषय हो।”

चौहानलाई औपचारिक कार्यक्रममार्फत प्रमाणपत्र र पुरस्कार प्रदान गर्दै सम्मान गरिएको प्रदेश प्रहरीले जनाएको छ।