झापा, असार ३० । कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित कुटी बजारको अदुवा खोला काठे पुललाई गत वर्षको भीषण बाढीले क्षतिग्रस्त बनाएको थियो। सो पुलको अवस्था दयनीय भएको भन्दै गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिँह राजवंशी नेतृत्वको टोलीले आज स्थलगत अवलोकन गरेको छ।


स्थानीयवासी तथा दैनिक यात्रुहरूको गुनासोपछि अध्यक्ष राजवंशीले निर्माण तथा प्राविधिक टोलीसहित स्थल निरीक्षण गर्दै पुलको मर्मतसम्भार कार्य तत्काल सुरु गर्ने प्रतिबद्धता जनाउनुभयो। “पुल स्थानीयवासीको जीवन र आवागमनका लागि अत्यन्तै महत्त्वपूर्ण भएकाले ढिला नगरी मर्मत कार्य अगाडि बढाइनेछ,” अध्यक्ष राजवंशीले भन्नुभयो।
गत वर्षको बाढीले पुलको आधार भाग कमजोर बनाइदिएपछि यातायातका साधन र पैदल यात्रुहरू जोखिम मोलेर आवतजावत गर्दै आएका छन्। समयमै मर्मत नभए आगामी वर्षा याममा थप क्षति पुग्ने र आवागमन पूर्णरूपमा अवरुद्ध हुने खतरा रहेको स्थानीयको भनाइ छ।
गाउँपालिकाले प्रारम्भिक प्राविधिक अध्ययन पूरा गरेर आवश्यक बजेट विनियोजन गरी मर्मत गरिने बताइएको छ।स्थानीयवासीले पुल मर्मतको खबरलाई स्वागत गर्दै काम छिटो सम्पन्न गर्न गाउँपालिकासँग आग्रह गरेका छन्।