झापा, असार २५ -झापाको बाह्रदर्शी गाउँपालिका-१ खैरबारीस्थित घेरावारी-राजगढ सडकखण्डमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।


स्थानीय र पारिवारिक श्रोतका अनुसार दुर्घटनामा कचनकवल गाउँपालिका-३(डाकुपरा)निवासी ५५ वर्षीय श्रीप्रसाद राजबंशी(बुलुवा)को घटनास्थलमै मृत्यु भएको हो। उनले चलाएको प्र.१-०१-०१६ प ९२७० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट तीब्र गतिमा आइरहेको भारतीय नम्बर प्लेट (BR37AZ 6440) भएको मोटरसाइकलले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्।
दुर्घटनामा भारतीय मोटरसाइकल चालक पनि गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल लगिएकोमा साँझ ४:४० बजे मृत्यु भएको जनाईएको छ। उक्त भारतीय चालकको भने अझै पहिचान खुल्न बाँकी रहेको छ।
स्कुटरमा सवार मृतक राजबंशी (बुलुवा)ले २६ वर्षीया बुहारी उर्मिला राजबंशी र ४ वर्षीय नाती आयुष राजबंशीलाई मावली घर शिवगञ्ज पुर्याउन लैजाँदै गर्दा दुर्घटना भएको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उर्मिला राजबंशी र नाति आयुषको अहिले बिर्तामोडस्थित बीएन्डसी अस्पतालको सघन कक्ष (ICU) मा उपचार भइरहेको छ। परिवारका अनुसार उर्मिलाको अवस्था चिन्ताजनक भएको र बालकको सिटि स्क्यान भईरहेको पारिवारिक स्रोतले बताएको छ।
घटनाको विषयमा इलाका प्रहरी कार्यालय राजगढले थप अनुसन्धान गरिरहेको छ। दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा राखिएको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गति नै दुर्घटनाको सम्भावित कारण रहेको अनुमान गरिएको छ।