काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अनुशासनको कारबाही गर्न नेता मोहनबहादुर बस्नेतले प्रस्ताव गर्नुभएको छ । सोमबार जारी केन्द्रीय समितिको बैठकमा नेता बस्नेतले छानबिन समिति बनाएर महामन्त्री थापालाई कारबाही गर्न प्रस्ताव गर्नुभएको हो ।

नेता बस्नेतले महामन्त्री थापाले आफूलगायत पार्टीका नेताहरुलाई चुनावमा हराउन बेइमानीपूर्ण भूमिका खेलेको आरोप लगाउनुभयो । उहाँले सामान्य कार्यकर्तालाई अनुशासनको कारबाही हुने तर महामन्त्रीलाइ किन नहुने भन्दै प्रश्न गर्नुभयो ।

निर्वाचनमा काठमाडौंदेखि चितवन, तनहूँलगतयका कांग्रेसले जित्ने ठाउँमा पनि आफू र आफना नेतालाई हराउन थापाले भूमिका खेलेको उहाँको दाबी छ ।

नेताहरु भीमसेन दास श्रेष्ठ, उमेश श्रेष्ठलगायतका नेतालाई हराउन र रास्वपाको नेता रवि लामिछानेदेखि स्वर्णिम वाग्लेलाई जिताउन थापाले षड्यन्त्रपूर्वक भूमिका खेलेको जिकिर गर्नुभयो । महामन्त्री थापाकै कारण आफनो पार्टीको दुई सिट बढेको मुकुल ढकालले बताएको बस्नेत भनाइ छ ।

महामन्त्री थापाले आफ्नो क्षेत्रमा रास्वपालाई मिलाएर पार्टीलाई आघात पुर्याएको नेता बस्नेतको भनाइ छ ।