झापा, असार २१ - झापाको भद्रपुर नगरपालिका वडा नम्बर ३ देवनिया र मेची नदीको दोभानमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।

मृतक बालक वडा नम्बर ३ महारानी चोकका अर्जुन लिम्बुको छोरा अन्दाजी १२/१३ वर्षीय अर्पण लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले पुष्टि गरेको छ।

प्रहरीका अनुसार अर्पण लिम्बु आफ्ना साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका थिए। घटना सम्बन्धी जानकारी प्राप्त भएपछि प्रहरी चौकी किच्चकवधबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजी कार्य सुरु गरेको थियो। खोजतलासको क्रममा दिउँसो ४:२५ बजे लिम्बुलाई सोही स्थानमा मृत अवस्थामा फेला पारिएको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनास्थललाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट अधिकृतसहितको टोली पठाइएको प्रहरीले जनाएको छ।

गर्मी याममा जलस्रोतहरूमा पौडी खेल्ने बालबालिकाको संख्या बढिरहँदा यस्ता घटनाहरु दोहोरिन नदिन अभिभावक र स्थानीय निकायलाई विशेष सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।