झापा, असार १४ - झापाको कचनकवल गाउँपालिकामा मोटरसाइकल चढी आएका चोरहरूले विभिन्न स्थानबाट नगद, मोबाइल र अन्य सामाग्री चोरी गर्ने घटनामा संलग्न ३ जनामध्ये १ जनालाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन्।

बनियानी स्थित महेन्द्र शर्मा हजामको घरबाट ४ थान मोबाइल र नगद १ लाख ८० हजार लुटपाट गरि भाग्ने क्रममा पक्राउ परेका व्यक्तिबाट प्रहरीले ४ थान विभिन्न ब्रान्डका मोबाइल सेट, एक थान खुकुरी, झोला (ब्याग) तथा चोरीमा प्रयोग गरिएको मोटरसाइकल समेत बरामद गरेको छ। स्थानीयवासीको सक्रियतामा एक जनालाई पक्राउ गर्न सफल भए पनि अन्य दुई जना फरार रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएकोले इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका युवकसँग प्रारम्भिक अनुसन्धान जारी रहेको छ र उनीहरूको आपराधिक संलग्नता तथा अन्य घटनासँगको सम्बन्धबारे थप विवरण लिइँदै छ।

प्रहरीले चोरीजन्य गतिविधिमा संलग्न समूहलाई चाँडै पूर्ण रूपमा नियन्त्रणमा लिने विश्वास व्यक्त गर्दै स्थानीयलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा प्रहरीलाई तत्काल जानकारी गराउन अनुरोध गरेको छ।