झापा, असार ११ - झापाको भद्रपुर नगरपालिका-७ स्थित आनीमार्गबाट लागूऔषध कारोबारमा संलग्न ४ जना पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक लोककृष्ण दाहालको नेतृत्वमा खटिएको टोलीले असार ११ गते राति करिब २:०० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।


पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय साजिन लामा, ३३ वर्षीय दिपेश लामा र २३ वर्षीय राम तामाङ रहेका छन्।
उनीहरूले प्रयोग गरेको बागमती प्रदेशको ०१-०३-च ०८७७ नम्बरको हुण्डाई गाडी समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार उनीहरूबाट झण्डै २०० ग्राम ३९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ। साथै, विभिन्न कम्पनीका मोबाइल फोनहरू पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत जिल्ला अदालत झापाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।