ईलाम, बैशाख ५ - झापा जिल्लाका स्थानीय तहहरूका उपप्रमुख तथा उपाध्यक्षहरूको सञ्जालको पाँचौं बैठक ईलामको सुर्योदय नगरपालिका–स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य श्रीअन्तुमा सम्पन्न भएको छ। बैठक २०८२ साल बैशाख ४ र ५ गतेका दिन सम्पन्न भएको हो।

सञ्जालका संयोजक तथा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकमा झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ वराल प्रमुख अतिथि रहेका थिए भने संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बा, सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। Screenshot_20250418_191446_Galleryकार्यक्रममा झापा जिल्लाका १५ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बैठकले विविध समसामयिक विषयमा छलफल गर्दै पाँच बुँदे साझा घोषणा पत्र जारी गरेको छ। घोषणापत्रमा निम्न विषयहरूमा प्रतिबद्धता जनाइएको छ :

१. लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सशक्तीकरण : स्थानीय सरकार संविधान प्रदत्त अधिकारसम्पन्न पहिलो तह भएकाले योजनाहरु, सेवा प्रवाह, सुशासन तथा आर्थिक विकासमार्फत लोकतन्त्र र सामाजिक न्याय सुदृढ बनाउने प्रतिबद्धता व्यक्त।

२. जलवायु अनुकूलन कार्यक्रम : जलवायु परिवर्तनका कारण थपिँदै गएको संकट न्यूनीकरणका लागि सामूहिक प्रयासस्वरूप जलवायु अनुकूलन कार्यक्रम सञ्चालन गर्ने निर्णय।

३. कोशी प्रदेश पर्यटन वर्ष २०८२ : प्रदेश सरकारद्वारा घोषित पर्यटन वर्षलाई सफल बनाउन स्थानीय तहको तर्फबाट पर्यटकीय सम्भावनाको पहिचान, प्रवर्द्धन तथा सहकार्यमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने सहमति।

४. उत्पादनमुखी र रोजगारमुखी बजेट : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम उत्पादन र रोजगारीमूलक योजना केन्द्रित बनाइ आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य।

५. दिगो विकासको कार्यान्वयन : दिगो विकास लक्ष्य प्राप्तिका लागि विज्ञको सहजीकरणमा आधारित प्रभावकारी कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता।

यस घोषणापत्रमा झापाका १५ वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूले हस्ताक्षर गरेका छन्। सहभागी नेताहरूले घोषणालाई व्यवहारमा लागू गर्ने र सामूहिक पहलकदमीलाई निरन्तरता दिने अठोट व्यक्त गरेका छन्।