कचनकवल – संगठन सुदृढीकरण अभियान अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कचनकवल गाउँ कमिटी, झापाको विस्तारित बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम नयाँ वर्ष २०८२ र सिरुवा पर्वको कार्यक्रम मनाउँदै भव्य रूपमा सम्पन्न भएको छ।


झापा माओवादी आन्दोलनका संस्थापक नेताहरू गौरी शंकर खड्का र चतुरमान राजवँशीको नाममा सञ्चालित अभियानको यो बैठकले संगठनलाई थप बलियो बनाउने उद्देश्यसहित विभिन्न मोर्चामा नेतृत्व र कार्यदायित्व समेत बाँडफाँड गरेको छ।
जनयुद्ध कालीन शैलीमा आयोजित उक्त बैठकले भूतपूर्व भूमिगत नेताहरू पुनः गाउँमा पुरानै शैलीमा सक्रिय रूपमा देखापरेको भन्दै स्थानीय बासिन्दाहरूमा द्वन्द्वकालीन माओवादी आन्दोलनको स्मृति ताजा बनाएको छ। स्थानीय मनोज राजवँशीका अनुसार जनताको घरघरमा सेल्टर लिएका नेताहरूको पुनः आगमनले क्रान्तिकारी चेतना पुनर्जीवित गरेको छ।
कार्यक्रममा युवाको ढुकढुकी मानिने प्रमुख अतिथि रञ्जित तामाङ, पुर्णसिंह राजवँशी, राजु आचार्यलगायतको विशेष उपस्थिति रहेको थियो। अतिथिहरूले सहभागीहरूलाई नयाँ वर्ष र सिरुवा पर्वको शुभकामना दिँदै संगठन सुदृढीकरणमा एकजुट भएर लाग्न प्रेरित गरेका थिए।
राजवँशी समुदायको मौलिक संस्कृति झल्काउने सिरुवा पर्वको अवसरलाई सबैले साझा पहिचान र एकताको प्रतीकको रूपमा लिएका थिए। सिरुवाको पहिलो दिन ‘दोमासी (जल सिरुवा)’, दोस्रो दिन ‘कादो सिरुवा’ र तेस्रो दिन ‘रङ्ग सिरुवा’ भव्यताका साथ मनाइएको थियो।
स्थानीय कोच संस्कृतिको संरक्षण र राजनीतिक चेतनाको संगम बनेको यो बैठकले माओवादी पार्टीलाई पुनः गाउँ केन्द्रित जनआन्दोलनमा लैजान महत्त्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा बोल्दै स्थानीय बुद्धिजीवी पञ्चानन राजवँशीले गणतन्त्रको रक्षक र जनताको अधिकार स्थापनाका लागि लड्ने एकमात्र पार्टी माओवादी केन्द्र भएको जिकिर गरे। उनले अबको युग माओवादीकै भएको उल्लेख गर्दै, "अबको पार्टी एकमात्र माओवादी बनाउने यात्रालाई कसैले रोकेर रोकिन्न," भनी दाबी गरे।
उनले उपलब्ध राजनीतिक इतिहास, जनताको साथ, जनयुद्धको बलिदानी र संगठनात्मक संरचनाको दृष्टिकोणले माओवादी पार्टी नै सबैभन्दा उत्कृष्ट विकल्प भएको तर्क प्रस्तुत गरे।