काठमाडौं, चैत २९ – चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईविरुद्ध ज्यान मार्ने उद्योगसहित चारवटा फरक कसुरमा मुद्दा दर्ता गर्ने तयारी अघि बढाइएको छ। प्रदर्शनको क्रममा आफैंले चलाएको गाडीले सुरक्षाकर्मीलाई किच्न खोजेको भिडियो सार्वजनिक भएपछि उनीविरुद्ध गम्भीर अनुसन्धान थालिएको हो।

प्रहरी स्रोतका अनुसार, भिड नियन्त्रणमा खटिएका केही सुरक्षाकर्मीहरूले प्रसाईविरुद्ध जाहेरी दिने तयारी गरिरहेका छन्। उनलाई शुक्रबार म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी छ। प्रहरीले आवश्यक कागजातहरू तयार गरिरहेको जानकारी प्राप्त भएको छ।

प्रदर्शनपछिको समयदेखि फरार रहेका प्रसाईलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर झापाको काकडभिट्टा छिराएपछि नेपाल प्रहरीले हत्कडी लगाएर भद्रपुर विमानस्थलबाट वुद्ध एयरलाइन्स मार्फत काठमाडौं ल्याइएको हो।

ज्यान मार्ने उद्योग –प्रदर्शनका क्रममा प्रहरीले भिड नियन्त्रण गर्न खोज्दा प्रसाईले गाडी अघि बढाउँदै प्रहरीमाथि किच्न खोजेको दृष्य भिडियोमा देखिएको छ। यसै आधारमा उनीमाथि ज्यान मार्ने उद्योगअन्तर्गत अनुसन्धान अघि बढाइएको हो।

संगठित अपराध –प्रदर्शनमा सहभागीहरूले निजी सम्पत्ति, जडीबुटी कारखाना लगायतमा तोडफोड र आगजनी गरेकाले यसमा प्रसाईलाई मुख्य योजनाकारको रूपमा ठहर गर्दै संगठित अपराधको आरोपमा पनि अनुसन्धान भइरहेको छ।

आपराधिक उपद्रव –सार्वजनिक सुरक्षाविरुद्धको गतिविधिमा प्रत्यक्ष संलग्न भएकाले प्रसाईमाथि आपराधिक उपद्रवको मुद्दा दर्ता गरिने बताइएको छ।

राज्यविरुद्धको कसुर –राज्यविरुद्ध उत्तेजना फैलाउने कार्यमा संलग्न भएको आरोपमा उनीमाथि चौथो कसुरका रूपमा अनुसन्धान थालिएको हो।

यसअघि सोही प्रदर्शनमा सहभागी राप्रपाका नेताहरू रवीन्द्र मिश्र र डा. धवलशम्शेर राणालाई पनि हिरासतमा राखेर अनुसन्धान जारी छ। प्रहरीले आन्दोलनलाई योजनाबद्ध हिंस्रक गतिविधिमा परिणत गराइएको निष्कर्ष निकाल्दै छानबिन गरिरहेको छ।