झापा – कचनकवल गाउँपालिका-४, केचनामा आज रातको करिब ९ बजेको समयमा सुनसानको मौका छोपी अज्ञात लुटेराहरुले तीन घरमा लुटपाट गरेका छन्।

लुटपाटको घटनामा पण्डित प्रदीप भण्डारीको घरबाट ३ तोला सुन र नगद भारतीय रुपैयाँ २५,००० चोरी भएको जनाइएको छ। त्यस्तै टंक खनालको घरबाट सुनको सिक्री र नेपाली रुपैयाँ २०,००० नगद समेत लुटिएको छ।

लुटेराहरुले लक्ष्मी चौहानको घरमा समेत धावा बोलेर घरभित्रका सामानहरू छरपस्ट पारेका छन्। हालसम्म उक्त घटनामा संलग्न लुटेराहरू फरार रहेका छन्।

स्थानीयवासी चन्द्र गणेशका अनुसार लुटपाटको समयमा वरिपरि सुनसान भएकाले कसैले केही थाहा पाउन सकेन। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयले अनुसन्धान सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार लुटेराहरूको खोजी कार्य तीव्र पारिएको छ र घटनास्थलबाट केही महत्त्वपूर्ण सुराकहरू संकलन गरिएको छ।

स्थानीयबासीले सुरक्षाको अवस्था प्रति चिन्ता व्यक्त गर्दै प्रशासनसँग सुरक्षा व्यवस्था कडा पार्न माग गरेका छन्।