बनियानी, झापा – कचनकवल गाउँपालिका वडा नं. ६ बनियानीमा बौलाहा कुकुरको टोकाइबाट सात जना स्थानीयवासी घाइते भएका छन्। साथै केही पशु चौपायाहरू पनि कुकुरको आक्रमणको सिकार बनेका छन्।


स्थानीय युवा व्यवसायी दिल बहादुर कार्कीका अनुसार कालो रङको बौलाहा कुकुरले आज लगातार आक्रमण गर्दै आएको छ। “हालसम्म ७ जना मानिस घाइते भइसकेका छन् भने गाई-बाख्रा जस्ता चौपायालाई समेत कुकुरले टोकेको छ,” उनले काजी खबरसँग बताए।
घाइतेहरूको हाल बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज भ्याक्सिन नभएकोले भद्रपुर स्थित मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। स्थानीय प्रशासन र वडास्तरमा कुकुर खोजी तथा नियन्त्रणको प्रयास जारी रहेको जनाइएको छ।
बौलाहा कुकुरको आतंकले स्थानीयमा त्रास फैलिएको छ। अभिभावकहरू बालबालिकालाई एक्लै बाहिर पठाउन डराइरहेका छन् भने पशुपालकहरू आफ्ना चौपायाको सुरक्षाप्रति चिन्तित बनेका छन्।
सुरक्षा र जनस्वास्थ्यको दृष्टिकोणले कुकुर नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता देखिएको छ।