काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ। उनलाई हतकडी लगाएर सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको हो।


शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्रसहित अन्य नेताहरूमाथि मुद्दा दर्ता गरी अदालतमा पेश गरिएको हो। उक्त प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको थियो।
थुनुवाको पोशाकमा रहेका मिश्रसँगै दुर्गा प्रसाईंको अभियानका आरटीएफ कमाण्डर मुनिन्द्र राजभण्डारी र सन्तोष राजावादी लगायतलाई पनि हतकडी लगाएर अदालत लगिएको छ। प्रहरीका अनुसार उनीहरूमाथि राज्यविरुद्धको अभियोग लगाएर कानुनी प्रक्रिया अघि बढाइने तयारी गरिएको छ।
शुक्रबार राति पक्राउ परेका मिश्र र राप्रपाका महामन्त्री धवल शम्शेर राणालगायत नेताहरूमाथि मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको छ। साथै, पुष्कर खतिवडालगायत अन्य नेताहरूमाथि पनि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।
प्रदर्शनकै क्रममा प्रहरीमाथि ढुंगा हान्ने कार्यमा संलग्न भएको आरोपमा कथित धार्मिक गुरु पुष्कर खतिवडा शनिबार पक्राउ परेका थिए। उनलाई इमाडोलस्थित निवासबाट पक्राउ गरिएको हो।
यसैबीच, तीनकुनेबाट भागेका दुर्गा प्रसाईं सुरूमा आफ्नै घर पुगेका थिए, तर त्यसपछि उनी भूमिगत भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले उनको खोजी कार्यलाई तीव्र पारेको छ।