झापा । कचनकवल गाउँपालिकामा जंगली हात्तीको बथानले स्थानीय कृषकको मुख्य मकै बालिमा ठूलो क्षति पुर्याएको छ। रातपरेसँगै जलथल जंगललाई बासस्थान बनाएका हात्तीहरू गाउँ पस्न थालेपछि किसानलाई आफ्नो वर्षदिनको मेहनत जोगाउन कठिन भएको छ।
        
                        
            
        
    
गत राति कचनकवल-३ मा १२ वटा छावा सहितको हात्तीको बथानले मोहन माझीको मकैबालीमा ठूलो क्षति पुर्याएको छ। यस्तै, सोही क्षेत्रमा रहेका धर्म पोखरेल र छत्रकुमार निरौलाको मकै बालिमा समेत हात्तीको आक्रमणका कारण ठूलो नोक्सानी पुगेको स्थानीयले बताएका छन्।
१ नम्बर र ३ नम्बर वडाका कृषकहरूले लगाएको मकैबाली पाक्न लागेको बेला हात्तीले आक्रमण गरेपछि किसानहरू चिन्तित बनेका छन्। पटक–पटक यस्ता घटना दोहोरिए पनि प्रभावकारी समाधान नआउँदा किसानले ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको गुनासो गरेका छन्।
स्थानीय प्रशासन र वन विभागले यस विषयमा चाँडो ध्यान नदिए किसानहरूको जीविकोपार्जनमा गम्भीर असर पर्ने देखिन्छ। यसतर्फ सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने स्थानीयको माग रहेको छ।
                    
        
        
        
                            
                                                            



















