झापा, कचनकवल – झापाको कचनकवल गाउँपालिका - ७, बालुबाडीस्थित पाथिभरा सामुदायिक वन क्षेत्रमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। इलाका प्रहरी कार्यालय बनियानिका अनुसार मिति २०८१ फागुन २८ गते साँझ ५:३० बजे पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हिमाल दाहालले वन क्षेत्रमा मृत हात्ती रहेको जानकारी गराएका थिए।

जानकारी प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक रोहित बहादुर मगरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। तर, घटनास्थल वरपर तीन-चारवटा जंगली हात्तीहरू रहेकाले सोही दिन विस्तृत अनुसन्धान गर्न कठिन भएको प्रहरी स्रोतले जनाएको छ। कानुनी प्रक्रिया पूरा गर्न भोलिपल्ट वन डिभिजन कार्यालय, भद्रपुरबाट टोली आउने जानकारी प्राप्त भएको थियो।

मिति २०८१ फागुन २९ गते बिहान ८:३० बजे इलाका प्रहरी कार्यालय बनियानी, पाथिभरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीय बासिन्दाहरू घटनास्थल पुगेका थिए। उक्त टोलीले हेर्दा करिब एक महिनाअघि मरेर सडिसकेको अवस्थामा भाले हात्ती रहेको पुष्टि भएको छ।

वन डिभिजन कार्यालय, भद्रपुरबाट अधिकृत कुल प्रसाद भट्टराईसहितको टोली पनि घटनास्थलमा पुगेको छ। प्रारम्भिक अनुसन्धानपछि हात्तीको मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको वन कार्यालयले जनाएको छ।

घटनास्थल इलाका प्रहरी कार्यालय बनियानीबाट करिब १२ किलोमिटर पश्चिम-उत्तरतर्फ पर्छ। वन क्षेत्रमा हात्तीको मृत्युका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी तथा वन अधिकारीहरूले बताएका छन्।