बनौली, सप्तरी – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले साक्षरता अभियानलाई तीव्र पार्न स्थानीय तहहरूलाई आह्वान गरेका छन्। सप्तरीको खडक नगरपालिकाले आजदेखि सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान उद्घाटन गर्दै उनले सन् २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्रावधान रहेको स्मरण गराउँदै स्थानीय तहले समयमै कदम चाल्नुपर्ने बताए।


अध्यक्ष प्रचण्डका अनुसार संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निःशुल्कको रूपमा व्यवस्था गरेको छ भने शिक्षालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ। अनिवार्य शिक्षासम्बन्धी ऐन अनुसार २०८५ सालसम्म सबै नागरिक साक्षर बन्नुपर्नेछ, अन्यथा उनीहरूले सरकारी सुविधा प्राप्त गर्न नसक्ने व्यवस्था छ। यस्तो अवस्थामा, सबै स्थानीय तहले साक्षरता अभियानलाई प्राथमिकतामा राख्नुपर्ने उनले स्पष्ट पारे।
खडक नगरपालिकाले साक्षरता अभियान सुरु गरेर महत्त्वपूर्ण पहल गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पालिकाहरूलाई पनि यस्ता अभियान सञ्चालन गर्न प्रेरित गरे। उनले संविधानले शिक्षा, स्वास्थ्य, रोजगारीलाई मौलिक हकको रूपमा स्थापित गरेको र यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय प्रणालीले प्रदेश तथा स्थानीय तहहरूलाई थप जिम्मेवारी दिएको बताए। उनले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै माओवादी केन्द्र नेतृत्वको सरकारले शिक्षा सुधारका महत्त्वपूर्ण कदम चालेको समयमा सरकार परिवर्तन गरिएको उल्लेख गरे।
खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीका अनुसार "समाजवादउन्मुख आधार निर्माण अभियान" भन्ने नाराका साथ सुरु गरिएको यो अभियानलाई छिटो सम्पन्न गर्न युवा स्वयंसेवक परिचालन गरिनेछ। केही महिनाभित्र नगरलाई पूर्ण रूपमा साक्षर बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए।
स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने नीति अघि सारिएको बताउँदै अध्यक्ष प्रचण्डले शिक्षा, स्वास्थ्य तथा अन्य मौलिक हकहरूलाई सुदृढ बनाउन कानुन निर्माण र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए।