राजविराज, १६ फागुन। नेकपा माओवादी केन्द्रले सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ मा पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव पनि सहभागी भएका छन्। सप्तरीको राजविराजमा शुक्रबार आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवासँगको अन्तरक्रिया कार्यक्रममा यादव अभियानमा जोडिएका हुन्।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, र नेपाल समाजवादीका अध्यक्ष महिन्द्र राय यादवले सम्बोधन गरेका थिए। अतिथिका रूपमा सहभागी पूर्वप्रमुख निर्वाचन आयुक्त यादवले पनि आफ्नो धारणा राख्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका महत्वपूर्ण रहेको बताए।
यादवले गणतन्त्रको संस्थापक दलको हैसियतले माओवादीले व्यवस्थाको रक्षा र कार्यान्वयनका लागि अग्रसरता लिनुपर्ने धारणा व्यक्त गरे। उनले देशको आर्थिक-सामाजिक रूपान्तरण नै वर्तमान आवश्यकता भएको उल्लेख गर्दै, आर्थिक विभेद कायम रहेकाले यसतर्फ गम्भीर ध्यान जानुपर्ने बताए।
यसअघि, नेसपा अध्यक्ष महिन्द्र राय यादव बिहीबारदेखि माओवादीको तराई–मधेश अभियानमा सहभागी भएका थिए। उनले सुनसरीको बर्जू गाउँपालिका–१ शुक्रबारेमा आयोजित सभामा माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा अभियानमा सहभागिता जनाएका थिए।
डा. यादव २०६३ सालदेखि निर्वाचन आयोगमा कार्यरत रहँदै २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका थिए। उनले १३ महिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पूरा गरेका थिए। २०७५ चैत १० गते आयोगबाट बिदा भएपछि उनी माओवादी केन्द्रसँग नजिकिएका हुन्।
२०७८ मंसिर तेस्रो सातामा यादव माओवादी केन्द्रको निर्वाचन विभागको सदस्यमा नियुक्त भएका थिए। उक्त विभागमा अधिवक्ता खिमलाल देवकोटा नेतृत्वमा २८ सदस्य रहेका छन्।
माओवादी केन्द्रले फागुन १२ गते झापाको कचनकवलबाट अभियान सुरू गरेको थियो। अभियानको पाँचौँ दिन सप्तरीमा आयोजना भएको कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको सहभागिता महत्वपूर्ण मानिएको छ।