सुनसरी, १६ फागुन। चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति, सुनसरीले पूर्वी नेपालको ठूलो तालमध्ये एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ।


समितिले ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ अन्तर्गत अध्यक्ष प्रचण्डको बर्जु ताल अवलोकनका क्रममा ज्ञापनपत्र बुझाउँदै तालको संरक्षण र विकासका लागि पहल गर्न अनुरोध गरेको हो।
समितिका अनुसार कुनै समय करिब ३०० बिघामा फैलिएको बर्जु ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघामा सीमित भएको छ। भूमाफियाहरूले तालको जग्गा अतिक्रमण गर्ने प्रयास गरिरहेकाले यसको संरक्षणमा तत्काल ध्यान दिनुपर्ने समितिको भनाइ छ।
नेपाल-भारत सीमासँग निकट (भारतको बिहारबाट मात्र १० किमी टाढा) रहेकाले ताललाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सके भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने र माछापालनबाट वार्षिक ६–७ करोड रुपैयाँ आम्दानी गर्न सकिने सम्भावना रहेको समितिले जनाएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बर्जु तालको पर्यटन प्रवर्द्धन, पर्यावरण संरक्षण, र स्थानीय रोजगारी सिर्जनाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले तालको संरक्षणका लागि सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो पार्टीले यसको संरक्षण र विकासका लागि प्रयास गर्ने बताए।