दुधे, १५ फागुन - नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले गणतन्त्र मासेर राजतन्त्र पुनःस्थापनाको बहसमा समय खेर नफाल्न आग्रह गर्नुभएको छ। उहाँले यस्तो कुरा असम्भव रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाले मात्रै देशको समृद्धि सम्भव हुने स्पष्ट पार्नुभयो।

शिवसताक्षी नगर समितिको आयोजनामा बिहीबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिटौलाले राजाको शासनकालमा जनताले सधैं दुःख पाएको र अब पनि त्यसलाई स्वीकार्न नसकिने धारणा राख्नुभयो।

उहाँका अनुसार, संविधान आवश्यकतानुसार संशोधन हुन सक्छ, तर त्यसको मूल लक्ष्य देशलाई अगाडि बढाउनु नै हो। सिटौलाले भन्नुभयो, "सबैको हित हुने व्यवस्था भनेको लोकतान्त्रिक व्यवस्था हो। जनताले कठोर संघर्षपछि गणतन्त्र स्थापना गरेका हुन्, त्यसैले यसलाई जोगाउनुपर्ने जिम्मेवारी हामी सबैको हो।"

सिटौलाले कांग्रेस पार्टी जनताको भलाइका लागि रहेको बताउँदै सन्तुलन, न्याय, दण्ड र पुरस्कारको निष्पक्ष व्यवस्था आवश्यक रहेको धारणा राख्नुभयो। पार्टीभित्रको गुट–उपगुट अन्त्य गर्दै एकतामा मात्रै बलियो शक्ति बन्न सकिने उहाँको भनाइ थियो।

जनप्रतिनिधिहरूलाई शहीदहरूको सपना पूरा गर्न, दुःखी र गरिब जनताको जीवनस्तर सुधार गर्न आग्रह गर्दै सिटौलाले पाथीभरामा केवलकार निर्माण विवाद वार्ता र संवादबाट समाधान गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले पार्टीको क्रियाशील सदस्यता नवीकरण कार्यलाई तिव्रता दिन आग्रह गर्दै आगामी फागुन मसान्तसम्ममा जिल्लास्तरमा बुझाइसक्ने जानकारी गराउनुभयो।

त्यसैगरी, नेपाली कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री खड्ग फागो, झापाका उपसभापति केशवराज पाण्डे, महासमिति सदस्य भक्ति सिटौला र मचिन्द्र शेर्मा, महाधिवेशन प्रतिनिधि सन्तोष मेनेङ्बो लगायत नेताहरूले आफ्ना धारणा राख्नुभयो।

नेताहरूको मुख्य माग र चिन्ता,सुकुम्बासी समस्या समाधान गर्नुपर्ने,पार्टीका भातृ तथा शुभेच्छुक संघसंस्थाको समयमै अधिवेशन गरेर चलायमान बनाउनुपर्ने,आम निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्नुपर्ने,पार्टीबाट अवसर प्राप्त गरेका व्यक्तिहरू स्वार्थी भएको आरोप,पाथीभरामा केवलकार विवाद, संसदमा बहसमा रहेका अध्यादेशका विषयमा पार्टीको स्पष्ट धारणा आउनुपर्ने,वडास्तरमै देखिएको गुट–उपगुट अन्त्य गर्नुपर्ने।

शिवसताक्षी नगर सभापति अशोक बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रमेश राईले गर्नुभएको थियो भने सञ्चालन होम दुलालले गर्नुभएको थियो। सूचना तथा प्रचार–प्रसार विभाग संयोजक रश्मिशेखर सुवेदीले कार्यक्रमबारे जानकारी गराउनुभयो।