कचनकवल - तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएको नेकपा माओवादी पार्टीले आज ३०औं ‘जनयुद्ध दिवस’ मनाउँदै छन्। २०५२ साल फागुन १ गते नेकपा (माओवादी) ले देशभर सशस्त्र विद्रोह सुरु गरेको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिएको छ।

जनयुद्ध दिवसका अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको ऐतिहासिक संघर्षको रूपमा यस दिनलाई स्मरण गरेका छन्। उनले जनयुद्धको आवश्यकता र उपलब्धिहरूबारे चर्चा गर्दै भने, "अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्‍यो भन्ने प्रश्न उठ्न सक्छ। तर, जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी छ।"

प्रचण्डका अनुसार जनतामाथिको दमनविरुद्धको प्रतिरोधकै रूपमा जनयुद्ध प्रकट भएको थियो। उनले थपे, "जनताले यो स्तरको प्रतिरोध नगरेको भए, हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं। यसले नेपाली समाजमा राजनीतिक अधिकारदेखि चेतनासम्मको विकास गरेको छ। त्यसैले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना हो, जसमा हामी गर्व गर्छौं।"

यस अवसरमा माओवादी नेतृत्वको स्थानीय तहहरूले सार्वजनिक बिदा दिएका छन्। तर, सर्वोच्च अदालतको फैसलाविपरीत बिदा दिइएको भन्दै अन्य दलहरूले विरोध जनाइरहेका छन्।