झापा । संघीय सरकारको विशेष अनुदानबाट कचनकवल गाउँपालिकाले सञ्चालन गरिरहेको खानेपानी पाइप खरिद योजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ को ठेक्का बन्दोबस्ती अनुसार ९३ लाख ३ हजार ३९८ रुपैयाँ बराबरको पाइप सम्बन्धित खानेपानी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ।

गाउँपालिकाले बिगत केही वर्षदेखि स्थानीय बासिन्दालाई स्वच्छ र शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले विभिन्न खानेपानी योजना सञ्चालन गर्दै आएको छ। यस योजनाअन्तर्गत क्रमिक रूपमा सबै वडाका खानेपानी परियोजनाहरू कार्यान्वयनमा ल्याइने जनाइएको छ।

गाउँपालिकाका प्रतिनिधिहरूले विकास निर्माण प्रति सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताउँदै,समन्वय र सहकार्यले मात्रै योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिने बताएका छन्। स्थानीय तहको सक्रियता र संघीय सरकारको सहयोगले कचनकवलवासीको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ।