झापा - कचनकवल गाउँपालिकामा जनताको स्वास्थ्य र समृद्धिसँग प्रत्यक्ष सरोकार राख्ने शुद्ध खानेपानी आयोजनाहरूको अवलोकन गरी सञ्चालनका लागि महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।
कचनकवल वडा नं. ३ को पथरिया खानेपानी आयोजना सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरी यसै वर्षदेखि सञ्चालन थालिनेछ । त्यस्तै ,घेरावारी खानेपानी आयोजनाको पहिलो र दोस्रो चरणको अवलोकन गरी सञ्चालनका लागि आवश्यक बजेट व्यवस्थापन गरिने भएको छ । केचना र पाठामारी क्षेत्रमा रहेका खानेपानी आयोजना सञ्चालनका लागि बजेट व्यवस्थापनसँगै अन्य सहयोगी निकायहरूसँग समन्वय गरिने योजना पनि रहेको छ ।
आजको अवलोकन कार्यक्रममा खानेपानी,सिंचाई तथा ऊर्जा मन्त्री माननीय एकराज कार्कीको नेतृत्वमा भौतिक पूर्वाधार राज्यमन्त्री माननीय भूमी प्रसाद राजवंशी ,निवर्तमान प्रदेश सभा सदस्य बसन्त बानियाँ ,कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी ,उपाध्यक्ष नवराज भट्टराईको उपस्थिति रहेको थियो ।
कचनकवल गाउँपालिकाले गरेको यस पहलले कचनकवल गाउँपालिकाका जनतालाई सुरक्षित र व्यवस्थित खानेपानी आपूर्ति गर्ने अपेक्षा गरिएको छ । स्थानीयस्तरमा खानेपानी व्यवस्थापनको यो प्रयासले जनताको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।