घेरावारी । झापाको कचनकवल -१ (कलियागञ्ज) स्थित भुतेनी खोलाको किनारमा पुरानो इँटाले बनेको इनार फेला परेको छ। यस इनारको स्वरूप र इटाको गुणस्तर हेर्दा उन्नत मानव बस्ती रहेको प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।

स्थानीयवासी भन्छन् इनार लामो समयदेखि अस्तित्वमा रहेको रहेछ तर अहिले खोला किनारमा भेटिनु सामान्य नभएर ऐतिहासिक र पौराणिक महत्व बोकेको हुनसक्ने भएपनि वास्तविक इतिहास र निर्माणकालबारे कुनै प्रमाण फेला परेको छैन। 

इनार निर्माणमा प्रयोग भएका इँटाहरू प्राचीन तर उन्नत देखिन्छन्, जसले सम्भवतः यसलाई पुरानो सभ्यतासँग जोड्ने संकेत दिन्छ।

यस इनारको महत्व पत्ता लगाउन कुनै किसिमको उत्खनन वा अध्ययन भएको छैन। सम्बन्धित पुरातत्व विभाग र स्थानीय निकायले यसबारे चासो देखाउने हो भने, यसको ऐतिहासिकता र पौराणिकता उजागर हुनसक्छ।

हाल इनार क्षतिग्रस्त अवस्थामा छ। यदि यसको संरक्षणमा ध्यान दिइएन भने यो महत्वपूर्ण अवशेष हराउने सम्भावना छ। यसको तत्काल संरक्षण र अनुसन्धानका लागि सरकारलाई ध्यानाकर्षण गराउन अपिल मात्रै होइन इनारले प्राचीन सभ्यता र स्थानीय परम्परा झल्काउने सम्भावना भएकाले यसबारे विस्तृत अध्ययन गर्नु जरुरी छ।

खोला किनारमा भेटिएको इनारबारे अध्ययन अनुसन्धान गर्ने हो भने यस क्षेत्र ऐतिहासिक अनुसन्धानको लागि महत्वपूर्ण केन्द्र बन्न सक्ने देखिन्छ।