झापा , कचनकवल गाउँपालिका - ७ तारावनामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
मिति २०८१ साल पौष १७ गते बिहान १०:०० बजेतिर दिपज्योति वन क्षेत्र बाहिर दाउरा र घाँस संकलन गर्न जाने क्रममा स्थानीय महिलाहरूको समूहलाई जङ्गली हात्तीले झण्डै १५० मिटर बाहिर खेतको बाटोमा आक्रमण गरेको थियो। उक्त घटनामा ३४/३५ वर्षकी केलाबत्ती राजवंशी हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी थिइन् । उनको बायाँ हातमा चोट र दाहिने खुट्टा भाँचिएको थियो ।
घटनापछि उनलाई तत्काल उपचारका लागि साई पाथिभारा अस्पताल, भद्रपुर लगिएको थियो । तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । घटनास्थलमा घाइते भएकी राजवंशीको साथमा उनका ससुरा मतिलाल राजवंशी थिए ।
घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायब निरीक्षक रोहित बहादुर मगरको नेतृत्वमा टोली घटनास्थलतर्फ खटिएको थियो। उक्त स्थान प्रहरी कार्यालयबाट ९ किलोमिटर पश्चिम-उत्तरमा पर्छ ।
यस घटनाले चारकोसे झाडी क्षेत्रको वन्यजन्तु व्यवस्थापन र स्थानीय जनताको सुरक्षाप्रति गम्भीर चुनौती औंल्याएको छ। स्थानीयले वन क्षेत्रमा संरक्षण र सुरक्षा उपायहरूको कडाइ गर्न माग गरेका छन् ।




















