झापा, कचनकवल: कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको नेतृत्वमा रहेको टोलीले हिजो अर्थमन्त्री बिष्णु पौड्यालसँग भेट गरी कचनकवलका समग्र विकासका योजनाबारे महत्वपूर्ण छलफल गरेको छ।

भेटघाटका क्रममा गाउँपालिकाको भौतिक पूर्वाधार विकास ,शिक्षा ,स्वास्थ्य र प्राविधिक शिक्षाको गुणस्तर अभिवृद्धिका योजनाहरूबारे अर्थमन्त्रीलाई जानकारी गराइएको छ।

टोलीमा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई ,निवर्तमान प्रदेशसभा सदस्य बसन्तकुमार बानियाँ ,वडाध्यक्ष चिन्तामणि खरेल र प्राविधिक शिक्षालयका सचिव चेतन खतिवडा रहेका थिए। उक्त पहलको सहजीकरण निवर्तमान प्रदेशसभा सदस्य वसन्त कुमार बानियाँले गरेका हुन्।

अध्यक्ष राजवंशीले कचनकवल प्राविधिक शिक्षालयलाई बहुवर्षीय योजना अन्तर्गत समेट्न सके क्षेत्रको शैक्षिक विकास मात्र नभई रोजगार सृजनाको सम्भावना समेत उजागर हुने बताउनुभयो। उहाँले अर्थमन्त्री पौड्यालसँग कचनकवलको आर्थिक स्रोत परिचालन ,शिक्षा र पूर्वाधार विकासमा संघीय सरकारको प्रत्यक्ष सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

अर्थमन्त्री पौड्यालले टोलीको प्रस्तुतीकरणप्रति सकारात्मक प्रतिक्रिया दिँदै, कचनकवलको विकासमा संघीय सरकारको आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले कचनकवलजस्तो सम्भावना बोकेको क्षेत्रको विकासमा दीर्घकालीन योजनाहरू कार्यान्वयन गर्न अर्थ मन्त्रालयबाट नीति र बजेटीय प्राथमिकता दिइने आश्वासन दिनुभयो।Screenshot_20241206_121316_Facebook

यस पहलले कचनकवल गाउँपालिकाको शिक्षा ,स्वास्थ्य र समग्र विकासका योजनाहरूलाई नयाँ गति दिनुपर्ने अपेक्षा गरिएको छ। टोलीले आगामी दिनमा योजनाहरू कार्यान्वयनका लागि थप सरकारी निकायहरूसँग सहकार्य गर्ने तयारी गर्दै आज टोली फर्किदै छ ।IMG-20241206-WA0002

प्रमुख बुँदाहरू:

१. अर्थमन्त्री बिष्णु पौड्यालसँग कचनकवल प्राविधिक शिक्षालयलाई बहुवर्षीय योजनामा समेट्न आग्रह।

२. भौतिक पूर्वाधार ,शिक्षा र स्वास्थ्य विकासमा संघीय सरकारको सहयोगको अपेक्षा।

३. दीर्घकालीन योजनाहरू कार्यान्वयनमा प्राथमिकता दिने अर्थमन्त्रीको प्रतिबद्धता।

४. कचनकवलको आर्थिक स्रोत र विकास योजनाहरूलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने पहल।

५.कचनकवलको शान्ति सुरक्षाको लागि विशेष सहयोग पुर्याउन प्राविधिक सहयोगको अपेक्षा ।