झापा – कचनकवल गाउँपालिका -६ (लाहुरे चौक) स्थित जमदार लिम्बूको हिजो राति दुहुनो दुई माउ गाई चोरिएको छ।
कचनकवल गाउँपालिका भित्र पछिल्लो समय गाईगोरु चोरीको घटना बढ्दै गइरहेको छ। स्थानीयले चोरी नियन्त्रणका लागि पटक–पटक सुरक्षा निकायको ध्यानाकर्षण गराए पनि सुरक्षा व्यवस्था कमजोर हुँदा चोरीका घटना दिन प्रतिदिन बढिरहेका छन्।
गाउँपालिकाका विभिन्न वडामा गाईगोरु चोरीका घटनाले स्थानीय किसान त्रस्त भएका छन्। लाहुरे चौक स्थित जमदार लिम्बूको गएराति गोठमै बाँधिएका दुहुनो दुई गाई समेत चोरिएका छन्। यो क्रम रोकथामका लागि प्रभावकारी उपाय नअपनाइएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।
पीडित किसानहरूले आफ्नो जीविकाको प्रमुख आधार गाईगोरु नै रहेको र चोरीका घटनाले उनीहरूको दैनिक जीवनमा गम्भीर असर पुर्याएको बताए। “हामीले सुरक्षा निकायलाई पटक–पटक जानकारी गरायौँ, तर समस्या जस्ताको तस्तै छ,” एक किसानले गुनासो गरे।
सुरक्षा निकायको कमजोर उपस्थिति र गस्तीको अभावका कारण चोरहरू अझै सक्रिय भइरहेका छन्। स्थानीय बासिन्दाहरूले राति स्वयं पालो गरी पहरा बस्नुपर्ने अवस्था आएको बताएका छन्।
सुरक्षा निकायका अधिकारीहरूले चोरी नियन्त्रणका लागि योजना बनाइरहेको दाबी गरे पनि ठोस कार्यान्वयन नहुँदा स्थानीयको असन्तुष्टि चुलिएको छ। घटनाको रोकथामका लागि तत्काल सुरक्षा व्यवस्था सुदृढ गर्न र दोषीलाई कारबाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।