झापा – कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवँशी र उपाध्यक्ष नवराज भट्टराई सहित निवर्तमान प्रदेशसभा सदस्य वसन्त कुमार बानियाँको टोली विभिन्न विकास योजनाहरू कार्यान्वयनको मागसहित काठमाडौँ पुगेका छन्।
टोलीले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललगायतका मन्त्रीहरूसँग भेटघाट गर्दै कचनकवल गाउँपालिकाका महत्वपूर्ण परियोजनाहरूको लागि पहल गरिरहेको छ।
विशेषगरी कचनकवलका सडक स्तरोन्नति ,बनियानी बजार तथा ढल व्यवस्थापन ,कचनकवल स्तम्भ ,जलथल वन संरक्षणसम्बन्धी योजना ,बनियानी प्राविधिक शिक्षालय ,जमुनाखोला पुल ,अमलखुट्टा पुल ,नवनिर्मित १२ शैया आधारभूत अस्पताल ,फोहोरमैला ब्यवस्थापनका बिषय कार्यान्वयनमा टोलीले छलफल गरेको छ। कचनकवलको विकासका लागि दीर्घकालीन योजनाहरूमा सरकारले ध्यान दिनुपर्ने टोलीको भनाइ छ।
अध्यक्ष राजवँशीका अनुसार कचनकवलको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाहरू अत्यन्त महत्त्वपूर्ण छन्। काठमाडौँ यात्राको उद्देश्यले स्थानीयस्तरमा अल्पकालीन र दीर्घकालीन विकासका लागि आधार निर्माण गर्न सरकारको सहयोग अपरिहार्य रहेको उनले बताए। टोलीको यो दौडधुपबाट कचनकवलका विकासका प्राथमिकताहरू सम्बोधन हुने आशा गरिएको छ।