झापा, कचनकवल – झापाको कचनकवल गाउँपालिका वडा नं. ६, बनियानी चोकमा शुक्रवार दिउँसो ग्यास सिलिन्डर विस्फोट हुँदा दुई होटल र अन्य व्यवसायहरूमा भीषण आगलागी भएको छ। घटनामा मानवीय क्षति नभए पनि करिब रु ५ लाख ३० हजार बराबरको धनमाल जलेर नष्ट भएको छ।
घटनाको विवरण :
दिउँसो १:५५ बजे सत्य नारायण राजवंशीको घरमा भाडामा लिएर सञ्चालन भइरहेको केशव राजवंशीको त्यारी राजवंशी होटलमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी सुरु भएको थियो। आगोले होटलमा रहेका विभिन्न सामग्री जलेर करिब रु ४,००,००० बराबरको क्षति पुर्याएको छ।
छेउमै रहेको झरेन्द्र पौडेलको निहारी होटलमा समेत आगलागी फैलिएर करिब रु १,००,००० बराबरका सामग्री जलेका छन्। त्यस्तै, जय सिंह राजवंशीको घरमा भाडामा सञ्चालन भइरहेको सिम्रिक सहकारी संस्थाको मिटर र सीसीटीभी जलेर करिब रु १५,००० बराबरको क्षति भएको छ।
त्यसैगरी, अमर राजवंशीद्वारा सञ्चालन गरिएको अमिला मेडिकल हलमा समेत आगलागीले सीसीटीभी जलेर रु १५,००० बराबरको क्षति पुर्याएको छ।
आगो नियन्त्रणमा :
घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित बहादुर मगरको नेतृत्वमा खटिएको प्रहरी टोली ,स्थानीय बासिन्दा र भद्रपुर नगरपालिकाको वारुण यन्त्रको सहायतामा आगो दिउँसो २:३० बजे नियन्त्रणमा लिइएको हो।
मानवीय क्षति शून्य :
आगलागीबाट कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ। घटनास्थल ईलाका प्रहरी कार्यालय बनियानीबाट करिब १ किलोमिटर पश्चिममा पर्दछ।
प्रहरी अनुसन्धान जारी :
घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी र स्थानीय प्रशासनले यस्ता घटनाबाट बच्न सावधानी अपनाउन आग्रह गरेका छन्।