झापा ।  कचनकवल गाउँपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरु गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार कचनकवल गाउँपालिका वडा १ बाट अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस दिन सुरु गरेको हो ।

केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीअन्तर्गत अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने कार्यको सुरु गर्दै वडाध्यक्ष महावीर लिम्बूले अनलाइनबाट नागरिकता सिफारिस गर्दा हुने केही असहज पक्षलाई जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्दै लैजानुपर्ने बताए । 

वडाध्यक्ष लिम्बूले अनलाइनबाट नागरिकता सिफारिस गर्ने प्रणालीको सुरुआत भएसँगै दोहोरो नागरिकताका कारण हुने समस्या अन्त्य हुने विश्वास व्यक्त गरे । ‘पहुँच हुने र टाठाबाठाले दोहोरो नागरिकता लिएर बदमासी गरिरहेका हुन्थे,’ उनले भने, ‘तर, निमुखाहरु वृद्धभत्ता खाने बेलासम्म पनि नागरिकता नबन्दा राज्यको सेवासुविधाबाट बञ्चित हुनुपरेको थियो । त्यो कार्यसमेत अन्त्य हुनेछ ।’ अनलाइन प्रणालीमा देखिएका समस्यालाई समाधान गर्दै प्रभावकारीरुपबाट अगाडि लैजानुपर्ने उनको भनाइ छ ।