२८ असोज- भाटभटेनी सुपर मार्केटका सन्चालक व्यवसायी मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन भवन लिने र उनैले कार्यालय भवन बनाइदिने कदम गलत भएको भन्दै एमालेमा विरोध सुरु भएको छ ।
एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले गुरूङबाट जग्गा लिने र उनैले पार्टी कार्यालय बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख मतदाताको अपमान भएको बताएकी छन् ।
पाण्डेले उक्त गलत निर्णय तत्काल सच्चाउन माग गरेकी छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले दशैंको फुलपातीका दिन व्यापारी गुरूङले दिएको जग्गामा पार्टी कार्यालय भवन शिलान्यास गरेका थिए ।
उनले एमाले कार्यालयका लागि कीर्तिपुरमा १० रोपनी १४ आना जग्गा निःशुल्क दिएका हुन् । गुरूङले नै एक वर्षभित्र ९ तले कार्यालय भवन बनाएर एमालेलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् । शिलान्यासमा गुरूङ दम्पत्ति नै सहभागी थिए ।
सोमबार सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ पाण्डेले त्यसबारे आपत्ति जनाएकी हुन् ।
‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो’ उनले भनेकी छन् ।
व्यापार व्वसाय गर्नेले पारदर्शी रुपमा कम्पनीको सामाजिक दायित्व अन्तर्गत सामाजिक काममा सहयेाग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयेाग लिनु र व्यापारीले दिनु दुवै ग़लत भएको उनको भनाइ छ ।
‘दिनेले किन र कसरी दिए उनैलाई थाहा हेाला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ’ पाण्डेले भनेकी छन् । उनले अहिले पनि समय नघर्किएकाले निर्णय सच्याउन अनुरोध गरेकी छन् ।
‘समय घर्की सकेकेा छैन । मनमोहन र मदनहरुले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेका स्वाभिमानी पार्टी पंक्ति र भावी सन्ततिका लागि एमालेको गैारव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ । समयमै सोचौं’ उनले भनेकी छन् ।
एमालेका अरु नेता पनि व्यापारीले दिएको जग्गा र उनैले बनाएदिएको भवनमा पार्टी कार्यालय राख्न नहुने भन्दै विरोधमा छन् ।