झापा । द्वन्दकालमा माओवादीद्वारा हत्या गरिएका झापा बालुबाडी गाविसका तत्कालीन अध्यक्ष चन्द्रमणि भट्टराईको आईतवार कचनकवल- ७ बालुबाडीमा स्मृति कार्यक्रम सम्पन्न भएको छ ।

२१ वर्षअघि २०६० सालमा आजकै दिन तत्कालीन गाविस अध्यक्ष तथा नेपाली काँग्रेसका महासमिति सदस्य चन्द्रमणि भट्टराईको माओवादीले घरमै गोली हानी हत्या गरेका थिए । उनको स्मृतिमा स्थापित चन्द्रमणि भट्टराई स्मृति प्रतिष्ठानले कार्यक्रम गरेको हो ।

सहिद चन्द्रमणि भट्टराईको धर्मपत्नी सीतादेवी भट्टराईको अध्यक्षतामा भएको स्मृति कार्यक्रममा नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश भौतिक पुर्वाधार राज्यमन्त्री भुमि प्रसाद राजवँशी,भद्रपुर नगरपालिका मेयर गणेश पोख्रेल,कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशी लगायतले बोल्नुका साथै कार्यक्रममा प्रमुख अतिथि सिटौलाले चन्द्रमणिले जनताको पक्षमा काम गरेकै कारण तत्कालीन विद्रोहीले हत्या गरेको बताए । चन्द्रमणि भट्टराई दृढ निश्चयी र आफ्नो अडानमा रहन सक्ने नेता भएको सिटौलाले स्मरण गरे । कार्यक्रममा पार्टीका स्थानीय नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।