झापा ।भद्रपुरका चर्चित फुटबल खेलाडी गम्भीर राईकाे निधन भएकाे छ।झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० चन्द्रगढी बजार निवासी ५६ बर्षीय खेलाडी राईकाे ह्रदय घातका कारण बिएण्डसी अस्पताल विर्तामोडमा आइतबार साँझ निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ।
वि.सँ.२०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका थिए।उनी यु १६, यु १९ र नेपाल यूथ फुटबल टिमको सदस्य पनि थिए।उनी एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरेका थिए ।
झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट संन्यास लिएका थिए।उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै भद्रपुर झापा गोल्डकपले २०७९ फाल्गुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान समेत गरेका थिए।उनका छोरा बिशाल राई पनि फुटबल खेलाडी हुन्।
फुटबलको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाएका खेलाडी राई केही दिन अघिबाट उपचारको क्रममा थिए।लामो समयबाट मधुमेह राेगबाट ग्रसित खेलाडी राईकाे निधनले सिङ्गाे खेल जगतलाई अपूरणीय क्षति पुगेकाे छ।