झापा : भौगोलिक दृष्टिकोणले झापा जिल्लाकै विकट र दुगर्म मानिने कचनकवल गाउँपालिका-१ स्थित पिन्डलबारी बस्तीमा एक सातापछि विद्युत् सेवा सुचारु भएको छ।

बिरिङ खोलामा जोखिममा रहेका दुईवटा बिजुलीको पोल मर्मतका लागि कचनकवल गाउँपालिकाले बजेट र दुईवटा ह्युमपाईप पाईलिङका लागि प्रबन्ध गरेपनि बिरिङ खोलामा आएको बाढीका कारण मर्मतसम्भार गर्न नसक्दा एक वटा विद्युतीय पोलमा क्षति पुर्‍याएपछि पिन्डलबारीका बासिन्दा एक साता अन्धकारमा बस्न बाध्य भएका थिए। नेपाल विद्युत् प्राधिकरण बनियानी सेवा केन्द्रले अस्थायी रुपमा १०० केभी भोल्टेजको एउटा ट्रान्सफर्मर राखेर बुधबार दिउँसोदेखि गाउँमा विद्युत् सेवा सुचारु गरेको बनियानी सेवा केन्द्र तोया दाहालले जानकारी दिए। 

बिरिङ खोलाको बीचमा रहेको एक वटा पोल बाढीले ढालेकोले केही दिन सेवा अवरुद्ध भएको बताउँदै सेवा केन्द्र प्रमुख दाहालले भने, ‘बाढीले ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीको पोल ढालेको हो, खोला बढेको र मानवीय क्षतिलाई मध्यनजर गरी सेवा अवरुद्ध बनाइएको थियो।’ 

क्षति पुगेका पोलहरू अहिले नै बनाइ सेवा सुचारु गराउने अवस्था थिएन । त्यही भएर खोलावारी अस्थायीरूपमा टान्सर्फमर राखेर तत्काललाई गाउँमा बिजुली पुर्‍याएको उनले बताए। बर्खायाम सकिएपछि मात्र ढलेका पोलहरू पुनः मर्मत सम्भार गरिने उनको भनाइ छ। 

१४७ घरधुरी रहेको पिन्डलबारी गाउँमा विद्युत् सेवा अवरुद्ध भएपछि एलटी लाईन मार्फत सेवा सञ्चालन गर्ने प्राधिकरणको निर्धारित योजना अनुसार नै ट्रान्सफरमर राखिने थाहा पाए लगतै झापा ३ बाट निर्वाचित सांसद तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन मंगलबार विद्युत् प्राधिकरणका प्रमुख तथा कर्मचारी स्थलगत अवलोकनमा पुगेका बेला राजनीतिक जसभाग लिन साथमा सानो बच्चा सहित स्वयं गाडी चलाएर पुगेका थिए।